२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

सरकारको निर्णय : ' प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त '

को हुन् प्रहरी प्रमुखमा नियुक्त मनोज केसी ?

बुधवार , कार्तिक १९, २०८३

 

काठमाडौं, कात्तिक ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा मनोज केसीलाई नियुक्त गरेको छ। दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर सरकारले केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो।

२८ वर्षअघि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका केसी अपराध अनुसन्धानमा विशेष दक्षता राख्ने प्रहरी अधिकारीका रूपमा परिचित छन्।

२०५४ चैत २८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका उनले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अपराध अनुसन्धान, शान्ति सुरक्षा र प्रहरी संगठनको संस्थागत सुधारमा बिताएका छन्।

प्रहरी सेवाको सुरुवाती चरणदेखि नै अनुसन्धानमा सक्रिय केसीले मोरङ र रूपन्देही जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

त्यसैगरी काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुखका रूपमा रहँदा उनले चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको ठगी तथा संगठित अपराधको अनुसन्धानको नेतृत्व गरेका थिए।

उक्त प्रकरणको अनुसन्धानले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्याएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व सम्हाल्दा उनले विभिन्न जटिल आर्थिक तथा संगठित अपराधका घटनाको अनुसन्धान गरेका थिए।

नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकममा भएको ठगी, प्रभु ग्रुप अन्तर्गतका बैंक तथा संस्थासँग जोडिएका संगठित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनाका घटनामा उनले अनुसन्धानको नेतृत्व गरेका थिए।

अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिको प्रयोगलाई प्राथमिकता दिँदै आएका केसी प्रहरी संगठनभित्र व्यावसायिक र निडर अधिकृतका रूपमा परिचित छन्।

उनी नेपाल प्रहरी कर्मचारी कलेज, महाराजगञ्जका संस्थापक निर्देशकसमेत हुन्। उनले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा समेत योगदान गरेका छन्।

केसीले प्रहरी सेवामा प्रवेश गरेको करिब २७ वर्षपछि २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा पाएका थिए। त्यसपछि २०८३ असार २२ गतेदेखि नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत थिए।

प्रहरी सेवासँगै शैक्षिक क्षेत्रमा पनि उनको उच्च योग्यता छ। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्।

सोही विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण अध्ययनमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा समेत स्नातकोत्तर गरेका छन्।

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका क्षेत्रमा पनि उनले काम गरेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हैटीमा सुरक्षा अधिकृतका रूपमा खटिएका उनले द्वन्द्वपछिको अवस्थामा स्थानीय प्रहरीको क्षमता अभिवृद्धिमा योगदान पुर्याएका थिए।

उनले प्रहरी सेवामा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले ' सुप्रबल जनसेवाश्री' र ' प्रबल गोरखा दक्षिण बाहु' लगायतका विभूषण प्रदान गरेको छ।

उनी उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रूपमा समेत सम्मानित भइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार