काठमाडौं, मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताएका छन ।
सम्पादकहरुसँगको संवाद कार्यक्रममा बिहीबार बोल्दै उनले सो कुरा बताएका हुन । काँग्रेस र एमाले यो देशको ठुला राजनीतिक शक्ति हुन्, केही दिन चलेको आँधी तुफान र ग्रहणले यी शक्ति विलय भएका होइनन्, देश बनाउने जिम्मेवारी यिनै दुई दलमा जिम्मेवारी रहेकाले फेरि जिम्मेवारी दुई दलकै काँधमा आउँछ अध्यक्ष ओलीले भने ।
विना सिद्धान्त, विना नीति र विना स्पष्ट योजना दलहरु उम्रनेक्रम जारी रहेको बताउँदै उनले भने, ' सम्पत्ति कमाउन, अपराधबाट बच्न र भ्रष्टाचार गर्नका लागि राजनीतिक दलमा लाग्ने होइन, राजनीतिमा लाग्ने भनेको देश बनाउनका लागि हो ।
देशको सकारात्मक रुपान्तरण गर्नका लागि हो । अहिले उम्रेका नयाँ दलमा त्यो कुरा देखिदैन । सरकार र जेनजी अगुवाहरुबिच बुधबार भएको नयाँ सम्झौताबारे राखिएको जिज्ञासामा अध्यक्ष ओलीले भने, जहाँ सम्झौता भयो, त्यहि च्यातिएको देखियो ।
सम्झौता नै च्यातिएपछि त्यसको के अर्थ छ र ! सम्झौताको कुनै औचित्य नभएरै च्यातिएको होला नि । राजनीति स्वस्थ र मर्यादित हुनुपर्ने बताउँदै उनले राजनीति गर्नु भनेको देश र जनताका लागि हो, आफ्नो लागि होइन, उनले भने ।
आफूले सत्य कुरा बोल्दा अरुलाई तितो लाग्ने गरेको बताउँदै उनले भने, लोकतन्त्र मास्ने प्रयास भयो भने एमाले सहँदैन, नेपाली जनताले सहँदैनन् । संसद पुनःस्थापनाबारे सम्पादकले राखेको जिज्ञासामा अध्यक्ष ओलीले संसद पुनः स्थापना हुनेमा विश्वास व्यक्त गरे ।
अवैधानिक ढंगले विघटन गरिएकाले वैधानिक ढंगले पुनःस्थापना हुने उनले दावी गरे । आगजनी, लुटपाट कसैलाई स्वीकार्य हुने विषय होइन, जेनजीको आवरणमा जसले गरे पनि त्यो सह्य छैन । मेरो विरुद्ध कोही नउठ्ला मेरो विरुद्धमा कोही नउठ्ला ।
सर्वसम्मत अध्यक्षमा मेरो नाममा सहमति बन्ला
कोही स्वस्थ प्रतिस्पर्धा गर्न आउँछ भने त्यसको स्वागत हुन्छ । दुई कार्यकाल र उमेरहदको जिज्ञासा पत्रकारले उठाएपछि अध्यक्ष ओलीले जवाफमा भने, ' दुई कार्यकाल अमेरिकी राष्ट्रपतीय प्रणालीमा हुन्छ ।
निर्वाचित भएपछि पाँच वर्ष काम गर्न दिइन्छ, कुनै बाधा हस्तक्षेप गरिदैन । हाम्रो यहाँ दुई कार्यकालको विषय स्थापित विषय होइन, कांग्रेस सभापति ५ पटक देशको प्रधानमन्त्री बने, तर उनले ५ वर्षे कार्यकाल सम्भवतः पूरा गरेका छैनन् होला ।
पुस्तान्तरण र हस्तान्तरण हुन्छ नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरण नभएको जिज्ञासामा अध्यक्ष ओलीले हरेक महाधिवेशनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको काम भइरहेको बताए ।
उनले भने, ' यसपाली पनि पुस्तान्तरण र हस्तान्तरण हुन्छ । चुनाव जित्नेहरु नेतृत्वमा आउँछन्, नजित्नेहरु बाहिरिन्छन् । मेरो हकमा भने निरन्तरता मात्र हुन्छ ।
आजीवन नेतृत्वमा कोही पनि रहन नसक्ने भन्दै उनले थपे, देश र जनताको पक्षमा काम गर्ने सक्रियता रहुन्जेल काम गर्ने हो, नसक्दा छाड्ने हो । यसमा कसैले चाहँदैमा नचाहँदैमा नेतृत्व ओगटेर राख्ने विषय होइन । यो स्वभाविक प्रक्रिया हो, नसकेपछि मैले पनि छाड्नुपर्छ ।
आफूले देश र जनताको पक्षमा काम गर्दा अरुको टाउको दुःखेको उनले दावी गरे । देश र जनताको पक्षमा काम गर्नु के अपराध हो ? मैले देशको समृद्धिका लागि काम गरेर के गल्ती गरें ? मैले काम गर्दा अरुको टाउको दुःख्छ भने मैले के गर्न सक्छु ? अरुको टाउको दुख्छ भन्दैमा मैले देश र जनताको पक्षमा काम गर्न छाड्नु हुँदैन ।
सकुन्जेल गर्छु । कसैमाथि दवाव हुँदैन पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले महाधिवेशनमा कसैमाथि करकाप र भेदभाव नगरिने बताए । स्वस्थ प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिइने तर अस्वस्थ ढंगले काम गर्न नदिइने बताए ।
करकाप कसैमाथि हुँदैन । भेदभाव विनाको स्वस्थ प्रतिस्पर्धा हुन्छ, उनले भने । पार्टी जीवनमा आँच पुग्ने खालका अस्वस्थ प्रतिस्पर्धा हुन भने नदिइने उनले प्रष्ट पारे । सकेसम्म सबैलाई मिलाउने प्रयास हुन्छ । सहमतीय हिसावले सर्वसम्मत नेतृत्व चयनको प्रयास अन्तिम समयसम्म गरिनेछ ।
सम्भव नभए स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर सबैलाई हुन्छ उनले भने । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले आफूलाई अझै अध्यक्ष हुन्छु भनेर नभनेको उनले बताए । उनको चाहना मिडियाबाट जानकारी पाएको बताए । ईश्वरको आकांक्षा छ भने भन्नु होला, सम्झाउँदा उहाँ सम्झिनु होला ।
मेरो नेतृत्व स्वीकार गर्न उनलाई कुनै समस्या हुँदैन,अध्यक्ष ओलीले भने। कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टी नेताहरु काशीनाथ अधिकारी, पद्मा अर्याल, राजेन्द्र गौतम लगायतको सहभागिता थियो । साभार : गोरखापत्र