काठमाडौँ, कात्तिक । तिहारअघिबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बुधबार) पनि जारी रहने भएको छ। विशेष महाधिवेशन वा नियमित महाधिवेशनको समयबारे पार्टीभित्र सहमति जुट्न नसक्दा नेताहरू विभाजित छन् र बैठकले निष्कर्ष निकाल्न सकेको छैन।
महाधिवेशन निर्वाचनअघि गर्ने वा निर्वाचनपछि गर्ने भन्ने विषयमा नेताहरू दुई ध्रुवमा बाँडिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहेकाले पार्टीको कार्यसम्पादन र महत्त्वपूर्ण निर्णयहरू लिन नेताहरूलाई समस्या परिरहेको छ।
देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर गएका छन्। तर, देउवा अनुपस्थित रहेको र महत्त्वपूर्ण राजनीतिक सङ्कट चलिरहेको समयमा उपसभापति खड्काले भने आफूले पाएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसकेको भन्दै पार्टीभित्र प्रश्न उठिरहेको छ।
देउवाको अनुपस्थितिले पार्टीको कार्यसम्पादन र जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन जस्ता संवेदनशील विषयमा निर्णय लिन नेताहरूलाई थप समस्या भइरहेको छ।
बैठकमा नेताहरूले संसद पुनःस्थापना, निर्वाचनमा जाने विषयका साथै महाधिवेशनको मिति लगायतका मागहरू राखिरहेका छन् ।