काठमाडौँ, कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन दलहरूसँग छलफल थालेकी छन् ।
प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले पहिलो चरणमा सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार बोलाएकी छन् ।
मंगलबार राष्ट्रिय मान्यता प्राप्त दललाई २- २ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र जसपा नेपालसँग पहिलो चरणमा निर्वाचन केन्द्रित छलफल गर्नेछिन् ।
प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा निर्वाचन आयोगमा दर्ता भएका अन्य दललाई छलफलमा बोलाउने तयारी छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका र निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेपछि दर्ता भएका सबैसँग छलफल गर्ने प्रधानमन्त्रीको कार्यसूची छ ।
राजनीतिक दलसँगै प्रधानमन्त्रीले पूर्वनिर्वाचन आयुक्त, पूर्व आयुक्त, निर्वाचन पर्यवेक्षणमा अनुभव भएका विज्ञ र नागरिक समाजसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।निर्वाचन आयोगले ३० कात्तिकसम्म दल दर्ताको समय दिएको छ ।
आयोगमा दल दर्ताको क्रम चल्दै गर्दा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन यस्तो छलफल थालेको गृहमन्त्री ओमप्रकाश अर्यालको दाबी छ । यो सरकार गठन भएकै निर्वाचनका लागि हो ।
निर्वाचनको तयारी हामीले निर्वाचन आयोगसहित सबैतिरबाट सुरु गरेका छौं, अर्यालले भने, 'तोकिएकै समयमा भयरहित तथा निष्पक्ष रूपमा निर्वाचन गर्न सरकारले तयारी तीव्र पारेको छ ।'