२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

" नेपाली कांग्रेसभित्र शुद्धीकरण आवश्यक छ " : महामन्त्री थापा

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन

शनिवार , भाद्र २१, २०८२

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरू पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन ।

आज नेपाली कांग्रेस, काठमाडौँ महानगर ३० कार्यसमितिले आयोजना गरेको 'बिपीको विचार र वर्तमान नेपालको राजनीति' विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए ।

उनले भने, कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।

यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गरे । उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरूले काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठुलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर- ३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ -४ प्रदेश ' क' का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार