२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राज्यव्यवस्था समिति : ' सभापतिमा कांग्रेसकी न्यौपानेको एकल उम्मेद्वारी'

मंगलवार , भाद्र १०, २०८२

 

काठमाडौँ, भदौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ । उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन ।

न्यौपाने पनि सोही समितिकी सदस्य हुन । आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उनले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराएका थिए । सभापतिमा उनको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला गएका थिए ।

समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उनी निर्विरोध भएको घोषणा गरिने छ । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल पार्टीको केन्द्रीय सदस्य छिन ।

यसअघि उनी दुवै संविधान सभामा सदस्य थिइृन । पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसकेकी छन । पार्टीमा महिला विभाग प्रमुख भइ जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।

संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहेकी नेतृ न्यौपानेले आजै मात्रै सभामुख समक्ष उक्त पदबाट राजिनामा दिएका थिए । पार्टीको आजै बसेको पदाधिकारी बैठकले उनलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सो पदका लागि बुधबार निर्वाचन हुँदैछ । कांग्रेसकै सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

उम्मेद्वारी दिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ न्यौपानेले संवेदनशील र महत्वपूर्ण विधेयकबारे निर्णय गर्न पर्ने राज्य व्यवस्था तथा सुृशासन समिति सभापतिको प्राप्त जिम्मेवारी पुरा गर्न सबैलाई साथ र सहजीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले भने, ' जहाँ बसेर काम गर्न चुनौती हुन्छ, त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ । वातावरण बनाएर जिम्मेवारी पुरा गर्नुपर्छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार