काठमाडौँ, साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेस बिना मुलुक अगाडि बढ्न नसक्ने बताएका छन ।
मुलुकमा स्थायित्व ल्याउन र सबैको विश्वास जितेर अघि बढ्न कांग्रेस सफल बन्दै आएको भन्दै उनले कांग्रेसप्रति जनताको दृढ विश्वास र भरोसा रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस कावासोती नगरका क्रियाशील सदस्य पुरुषोत्तम भट्टराईको निधनको ११ औँ दिनको पुण्य तिथिमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै डा. कोइरालाले मुलुकमा नयाँ दलका नाममा भइरहेका प्रचारबाजी प्रवृत्ति आफैँ हराएर जाने बताए ।
वर्तमान अवस्थामा कांग्रेसले जनताका लागि के दिन र बोल्न सक्छ भन्ने विषयले प्राथमिकता पाउने उनको भनाइ थियो । उनले मुलुकमा स्थायित्व र शान्तिसुरक्षाका लागि कांग्रेस लागि परेको र सरकार पनि यसमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
डा. कोइरालाले पार्टीका साथीलाई बिपी विचारका लाइनमा टेकेर अघिबढ्न अपिल गर्दै कांग्रेस कार्यकर्ता बिपीका विचारबाट कहिल्यै विचलित नहुने भन्दै स्वर्गीय भट्टराई बिपीका विचारका सच्चा अनुयायी भएको उल्लेख गरे ।
सो कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेलगायतका वक्ताले स्थानीय राजनीतिमा स्व। भटट्राईले पुयाएको योगदानबारे चर्चा गरेका थिए ।