६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उपाध्यक्ष घिमिरेले मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।
सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ, जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।
संसद् सङ्घीय संसद् सदस्य, संविधानसभा सदस्य, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आम नेपाली जनतामा लोकतन्त्रको सार सम्झाउने र सुधारको बाटो देखाउने अवसर बन्न सकोस भनि कामना पनि व्यक्त गर्नुभएको छ । विसं २०१६ साल असार १६ गते नेपालमा संसद््को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ ।
संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो । नेपालले लामो सङ्घर्षपछि लोकतन्त्र र सङ्घीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायको रूपमा स्थापित गरेको छ । संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पु¥याएको उपाध्यक्ष घिमिरेको भनाइ छ ।