काठमाडौँ, असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।
ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
विधान महाधिवेशनको तयारीका काम गर्न पार्टी केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिइएको छ । विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ ।
बैठकले विधान महाधिवेशनको तयारी गर्न आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसैगरी, केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पार्टीको पोलिटब्यूरो बैठक बस्ने निर्णय भएको छ ।
उपमहासचिव ज्ञवालीका अनुसार आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरी छलफलका लागि तल्लो तहको कमिटीमा पठाउने निर्णय भएको छ ।
यस्तै बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरुलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
सरकारको एक वर्ष सफल र प्रभावकारी एमाले सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसैगरी, देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको बैठकको निष्कर्ष छ ।