२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा बैठक

अध्यक्ष लिङ्देनले भने :  ' कमजोर अर्थतन्त्र सुधार्ने बजेट आओस् '

शुक्रवार , बैशाख १२, २०८२

 

काठमाडौँ, वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याए ।  

प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिए । 

“सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् । बजेट पुस्तिका च्यात्नुपर्ने र विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्”, उनले भने । 

गत चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले पुनः दोहो¥याएको छ ।  उक्त घटनाका क्रममा प्रदर्शनकारीबाट भन्दा पनि सरकार पक्षबाट दमन भएको उनको आरोप छ ।

“यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन”, उनले भने, “तर प्रहरीबाट ६५० भन्दाबढी राउण्ड अश्रुग्यास चलेको छ । अरु विभिन्न खालका फायरिङ भएका छन् ।” 

उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ छ ।

प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए ।  उनले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुनःमाग गरे । 

त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको उनको भनाइ छ । “राजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन ।

राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्”, उनले भने, “विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा छ ।” राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ । 

लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उनको भनाइ छ । राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उनले संसद्मा उल्लेख गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार