चितवन, चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामनासहित कांग्रेस नेता भीमबहादुर श्रेष्ठको जीवन सङ्घर्ष र अनुभूतिहरु पुस्तक विमोचन तथा भित्तेपात्रो लोकार्पण गर्दै उनले कांग्रेस भित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए ।
उनले भने, ' विसं २०६२- ०६३ को जनआन्दोलन पछिका वर्षहरुमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुराको समीक्षा जरुरी छ । उनले भने, ' हामीले राम्रा काम पनि गरेका छौँ तर नराम्रा कामहरुको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिन्छ । '
कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक रहेको धारणा राखे । उनले भने, ' कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ ।
पार्टीलाई बलियो बनाउने काम गरौँ । अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नसकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ, दिनेश कोइरालालगायतले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनालले भीमबहादुर श्रेष्ठको योगदानका बारेमा चर्चा गरेका थिए ।