२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

लोकतान्त्रिक गणतन्त्रको विकल्प - 'बलियो र संस्थागत लोकतन्त्र'   : अध्यक्ष यादव

आइतवार , चैत्र १६, २०८१

 

काठमाडौँ, चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताएका छन ।  

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताए ।  

अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकांक्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गरे ।  

“नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विभिन्न खालका खेल भइरहेका छन् । यस व्यवस्थालाई संस्थागत गर्दै कार्यान्वयनका क्रममा देखिएका त्रुटी सच्याउने र समीक्षा गर्ने बेला भएको छ । ”

उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ बलियो र संस्थागत लोकतन्त्र नै हो । यसको विकल्प एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था वा कुनै प्रकारको तानाशाही शासन हुन सक्दैन ।”

अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याए । 

उनले भने, “व्यवस्थामाथि यस किसिमका प्रश्न किन आए भनेर हामीले समीक्षा गर्नुपर्दछ । हामीले बहुदल ल्याएको ३५ वर्षभन्दा बढी समय भयो । ३५ वर्षमा अनेकौँ सरकार बदलिए तर सुशासन दिन सकेनौँ । गरिबी, बेराजगारी घटाउन सकेनौँ । आर्थिक विकास गरी समृद्धिको बाटोमा जाने, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा सुधार गर्न सरकार चुकेको छ ।” 

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्वराजाका नामबाट तीनकुनेमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गरे । उनले हिंसात्मक, दुःखदायी र निन्दयीय घटनाका रूपमा त्यसलाई लिइनुपर्ने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार