२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एमाले 

एमाले सचिवालय बैठक निर्णय  :  '  नेता रावल पार्टीबाट निस्काशित '

स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनालाई जिम्मेवारीबाट मुक्त 

बुधवार , पौष १०, २०८१

 

काठमाडौँ,  पुस ।  नेकपा (एमाले) ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  

उनले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताए ।  

“पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो व्यवस्थाअनुसार उहाँ सल्लाहकार रहे ।”

उपमहासचिव ज्ञवालीले भने, “त्यो सल्लाहकारको भूमिका पनि पूरा गर्नु भएन । र उहाँका अभिव्यक्ति पार्टीलाई बलियो बनाउनुभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएका हुनाले उहाँलाई सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ ।”

 

स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनालाई जिम्मेवारीबाट मुक्त 

यस्तै पार्टीले स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । 

उपमहासचिव ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।  

“उहाँहरू दुवैले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा प्रक्रियागत सङ्गत भएन भनेर सोधिएको थियो । स्पष्टीकरणमा उहाँहरूले पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती महशुस देखिएन”, उपमहासचिव ज्ञवालीले भने, “त्यही भएर उहाँहरूलाई पार्टीको निर्देशनमा थप चल्न र जिम्मेवारीबाट छ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।” 
–––

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार