२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 सिमकोट कांग्रेस  :  उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

आइतवार , कार्तिक २५, २०८१

 

सिमकोट (हुम्ला),  कात्तिक । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको  उम्मेदवारको टुङ्गो लगाएको छ । 

सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी हुनुहुन्थ्यो ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

एमाले यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरी घरदैलोमा व्यस्त छ । 

चार समूह बनाएर घरदैलो अभियान गरिरहेको एमाले जिल्ला सचिव तीर्थराज बोहराले बताए ।  

माओवादी केन्द्र पनि उम्मेदवार चयनका लागि सर्केगाडमा केन्द्रित भएको सो पार्टीका जिल्ला सचिव धर्मराज बोहराले बताए ।  
यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की निर्वाचित भएका थिए । 

सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त  पदका लागि सर्केगाडमा उपनिर्वाचन हुनलागेका हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार