काठमाडौँ, कात्तिक । शुक्रबार प्रतिपक्षी दलहरूले ३ दलीय संयन्त्र बनाएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकमा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, माओवादीबाट शक्तिबहादुर बस्नेत र रास्वपाबाट शिशिर खनाल रहेको ३ दलीय संयन्त्र गठन गरेको हो ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकार बाढीपहिरोपछि उद्धार तथा राहतमा गम्भीर नभएको र सरकारले चाल्न सक्ने कदमप्रति ध्यानाकर्षण गराउन संयन्त्र बनाइएको बताए ।
सरकारले विपद्को जोखिम न्यूनीकरणका लागि उचित तयारी नगरेको उल्लेख गर्दै उनले भने, ' सरकार कुहिरोमा हराएको काग जस्तो भयो ४/५ घण्टा हारगुहार गर्दा पनि उद्धार नभएको हो ।'
त्यस्तै बाढी पहिरोपछि राहत र उद्धार लाग्नुपर्नेमा सरकार विषयान्तरका लागि दल फुटाउने अध्यादेश ल्याउने तयारीमा लागेको समेत उनले आरोप लगाए । ' दुई तिहाईको सरकार हुँदा पनि उहाँले अध्यादेशबाट सरकार चलाउनु भएको हो ।
सत्ता पक्षमा भएकै साना दलहरू फुटाउने तयारीमा हो कि या हामी नयाँ दलहरूप्रति पनि उहाँहरूले केही कदम चाल्न लाको हो कि भन्ने हामीलाई गम्भीर आशंका छ, ' उनले भने ।
भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा दान लिँदा ुसुशासनको कुरा कहाँ पुग्यो रुु भन्ने उनको प्रश्न छ । ' जो मान्छे भ्रष्टाचार दोषी ठहर भएका व्यक्तिबाट जग्गा लिँदा सुशासन कहाँ पुग्छ भन्ने कुरा हो । जग्गा दिने व्यक्तिका साझेदार खोज्दै जाने भने कहाँ पुग्छ भन्ने कुरा हो,' उनले भने ।
त्यस्तै रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा श्रेष्ठले भने, 'हाम्रो सभापतिले पूर्वाग्रह स्वीकार्दिनँ ।' विधिसम्मत हुने अनुसन्धानमा सघाउँछु भन्नु भएकै छ ।
उहाँहरूले ग्रहदशा हेर्ने बानी छ कतिखेर समात्दा हुन्छ भनेर हेर्दै हुनुहोला । 'उहाँहरूले यस्तै यस्तै टाइम पार्ने नै हो । विधिको हिसाबबाट गर्दा हामी जहिले पनि तयार छौँ ।
आजको विषय सभापति पक्राउको कुरा मुख्य होइन ।' समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।