२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एमालेसँग सत्ता गठबन्धन 

महामन्त्री शर्माले भने  : " सत्ता सहकार्य चुप लागेर बस्न होइन "

शनिवार , श्रावण २६, २०८१

 

काठमाडौँ, साउन । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा महामन्त्री शर्माले भने,  एमालेसँग भएका विमतिका विषयलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।

महामन्त्री शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेबीचमा भएका विमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । 

हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कयौं कुरामा असहमत छ ।

कांग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाइ थियो ।

महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महसुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।

उनले आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे । 

'नेकपा एमालेका सबै दृष्टिकोणसँग सहमत भयौं हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त । पार्टी नै हामी फरक हो नि त । 

विचार नै फरक हो नि त, पृष्ठभूमि नै फरक हो नि त,' उनले भने, 'सोचाई, शैली, संगठन सबै कुरा फरक हो नि त । फरक चिज मिल्दै गर्दाखेरी चुपचाप भत्किन्छ । केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्ने थाल्ने । 

एमालेका केही बोल्दाखेरी शेरबहादुर देउवा हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर एमाले चुप लाग्न थाल्ने । हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन ।'

महामन्त्री शर्माले सत्तारुढ दलहरूबीच विमतिका कयौं विषयहरू रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्नेकुरा हुनै नसक्ने बताए । उनले सरकारको भविष्य काम र संयमतामा निहित रहेको बताए ।

उनले भने, 'यो गठबन्धन बनाउँदै गर्दाखेरी विमतिको बीचमा सहमति गरेर गएका छौं । जति विमतिका विषयहरू छन् । त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन । 

त्यसकारणले गर्दाखेरी सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ ।’

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरूको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औल्याए । 

मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरूको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार