काठमाडौँ, साउन । नेपाली कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै मुलुकको नेतृत्व गर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको आइतबार भएकाे प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, 'पार्टीलाई सबैको आस्था र निष्ठाको केन्द्र बनाउन आफू प्रतिबद्ध भएर लागेको छु ।'
महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमी जोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए ।
उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने भन्दै पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए ।
उनले भने, 'नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस् । बोल्न पाइयोस् ।'
पार्टीले गर्ने निर्णयहरुको कारणले गर्दा तपाईहरुको कसैको शीर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ ।