काठमाडौँ, साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको आरोप लगाएका छन् । उनीहरुले सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद हो भन्ने ठानिरहेको अध्यक्ष यादवको आरोप छ ।
शनिवार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्न तयार हुनुले त्यसलाई पुष्ट्याइँ गरेको बताए ।
कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाइ छ । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।
उनले भने, ‘अहिलेको कम्युनिष्ट साथीहरु नरिसाउनुहोला ।अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुलाई हेर्दा सत्ता, भत्ता, पैसा र पद नै साम्यवाद हो भन्ने उहाँहरुले ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिरेर काम गर्नुहुन्छ कि कल्पना नै गर्न सकिदैन । त्यो युग अहिले आएको छ । '
' कुनै पनि काम बाँकी नछोड्ने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि भन्दा सरकारका लागि ।' अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रुपमा देखिएको दाबी समेत गरे ।