नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संविधान अनुसार ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना नरहेको खण्डमा मात्रै अर्को धारा आकर्षित हुने बताएका छन । उनले बीबीसी प्रतिनिधिसँग कुरा गर्दै भने, 'अहिले सो व्यवस्था अनुसार नै सरकार गठन गरिने छ । '
उनले भने, “एमाले र कांग्रेस मिल्दा दुई वा दुईभन्दा बढी सरकार बन्ने सम्भावना अझै रहेकाले अहिले उपधारा ३ मा जाँदैन उपधारा २ मा नै रहन्छ।”
विश्वकर्माका अनुसार संसद्बाट विश्वासको मत प्राप्त नगरेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनेछन्।
त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्भावना छ कि छैन भनेर निश्चित समय दिएर प्रतिनिधिसभालाई पत्र पठाउनुपर्ने विश्वकर्मा बताउँछन्।
कांग्रेस र एमाले मिल्दा प्रतिनिधिसभामा १६६ सीट पुग्छ। त्यस्तो पत्र सदनमा पुगे लगत्तै एमाले अध्यक्ष ओली आफूलाई कम्तीमा १६६ सांसदको समर्थन रहेको जिकिर गर्दै सरकारको नेतृत्व दाबी गर्न शीतल निवास पुग्ने नेताहरू बताउँछन्।
सोमवार प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले विश्वासको मत प्राप्त नगरेको खण्डमा संविधानको स्वाभाविक प्रक्रिया अन्तर्गत नै नयाँ सरकार बन्ने बताएका थिए।
उनको भनाइ छ, “तथ्यलाई बङ्ग्याउने प्रयत्न पनि गरिएको छ, यहाँ संसद् र बालुवाटारबाट पनि भ्रम छर्ने प्रयास भइरहेको छ। उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूले सरकार बनाउने प्रावधान छ।
प्रधानमन्त्रीले ७६ (२) बमोजिम विश्वासको मत प्राप्त नगरेको खण्डमा उक्त प्रावधान अनुसार सामान्य प्रक्रियाबाटै सरकार बन्छ।”
प्रतिनिधिसभालाई पठाएको पत्रमा प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनुपर्ने व्यवस्थालाई उद्धृत गरेका छन्।
सो उपधारामा प्रधानमन्त्रीलाई समर्थन दिने कुनै एक दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।
-बीबीसीबाट