काठमाडौँ, असार । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ ।
आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार ११९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।
आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ ।
आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत शून्य दशमलव २२, लगानी एक दशमलव ८९ र जीवन बीमा एक दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तीस करोड नौ लाख चार हजार ६९४ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ । रासस