काठमाडौं, असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम एकता भनेर पुरानै दुर्घटनाको स्थिति नआओस् भन्नेमा आफूहरू सतर्क रहेको बताएका छन् ।
असार १५ का अवसरमा आयोजना हुने धान रोपाइँ महोत्सवमा सहभागी हुन शुक्रवार चितवन पुगेका उनले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै हतारमा वाम वा पार्टी एकता गर्ने पक्षमा आफूहरू नभएको बताए ।
नेकपा माओवादी - एमालेसँग उत्साहजनक तरिकाले पार्टी एकीकरण गर्दा पनि पछि दुर्घटना आएकाले अब सजग हुनुपरेको स्पष्ट पारे ।
सत्ता सहकार्य गरिरहेको एमालेसँग फेरि पार्टी एकताको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो स्पष्ट पारेका हुन् ।
‘हामी तत्काल र हतारमा वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा छैनौं । विगतमा धेरै उत्साह आएर पनि पछि दुर्घटना भयो । त्यसकारण वाम एकता भन्ने कुरालाई भन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जानेछौं ।
राम्रो सहकार्य गरेर काम गर्दै जनताले नै देख्नेगरी परिणाम दिनेछौं,’ उनले भने, ‘फेरि वाम एकता भनेर पुरानै दुर्घटनाको स्थिति नआओस् भनेर हामी सजग छौँ । हामी सतर्क छौँ र सतर्कताका साथ अगाडि बढ्नेछौं ।’
शनिवार प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनको बछौलीमा धान रोपाइँ महोत्सव हुँदैछ । कृषि विभागले यसपटकको धान रोपाइँ महोत्सव प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनमा राखेको छ ।
प्रचण्डसँगै कृषि मन्त्री ज्वालाकुमारी साहलगायत मन्त्रालयका अधिकारीहरू पनि चितवन पुगेका छन् ।
पहिलो पटक काठमाडौंबाहिर धान रोपाइँको औपचारिक कार्यक्रम हुन लागेको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिए ।
-लोकान्तरबाट