काठमाडौँ, जेठ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माण सम्पन्न भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मुलुकको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी क्षमताको हेटौँडा सबस्टेसन उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न यथाशीघ्र तीन मुलुकका विद्युत् व्यापारमा संलग्न निकायबीच त्रिपक्षीय सम्झौता हुने जनाउँदै त्यसपछि नेपालको विद्युत् बङ्गलादेश निर्यात सुरु हुने बताए ।
उनले बङ्गलादेश विद्युत् निर्यात सुरु हुने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्वपूर्ण हुने उल्लेख गरे ।
“केही दिनअघि भारतका समकक्षी नरेन्द्र मोदीजीको शपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौतालाई अझै सशक्तरुपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायत विषयमा महत्वपूर्ण छलफल भएका छन्”, प्रधानमन्त्री दाहालले भने, “यसबाट दुई मुलुकबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएको छु ।”
उनले देशभित्र खपत गर्न नचाहेर भारततर्फ विद्युत् निर्यात गरिरहेको नबुझ्न सबैलाई आग्रह गरे । देशभित्र खपत बढाउन अझै पनि पूर्वाधार अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार सुधार तथा विस्तार गर्ने र खपत गरी बढी बचत भएको विद्युत् निर्यात आवश्यक रहेकोमा जोड दिए ।
प्रधानमन्त्री दाहालले विद्युत्को पहुँच विस्तार मात्र नभई आन्तरिकरुपमा विद्युत्को खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए ।
“हेटौँडा सबस्टेसनलाई ढल्केबर सबस्टेसनसम्म जोड्ने चार सय केभी प्रसारण लाइन निर्माणमा विगत छ÷सात वर्षदेखि अवरोध रहेको जानकारी पाएको छु । यस्तो रणनीतिक महत्वको प्रसारण लाइन निर्माणमा बाधक नबनी साधन बनिदिन स्थानीयलाई आग्रह गर्दछु”, प्रधानमन्त्री दाहालले भने, “स्थानीय समुदायले उठाउनुभएका जायज मागलाई सम्बोधन गरी बाँकी काम तत्काल सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशित गर्दछु । साथै स्थानीय सरकार र प्रशासनलगायत सम्बन्धित निकायलाई विकास निर्माणमा आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्दछु ।”
‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा यस्ता ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराउनुका साथै गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको उनले उल्लेख गरे ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्रको विद्युत् उपभोग क्षमता वृद्धि गरी बचत भएको विद्युत् निर्यात गर्ने र ऊर्जामा आत्मनिर्भर बन्ने योजनाका साथ काम अगाडि बढाइएको बताए ।
उनले प्रसारण लाइन निर्माणमा रहेको मार्गधिकारको समस्या समाधान गर्न जलविद्युत् आयोजनामा प्रभावितलाई शेयर उपलब्ध गराउने गरी कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए। मार्गधिकारमा परेका जग्गाको कित्ताकाटको समस्या नीतिगतरुपमै सम्बोधन गर्न पहल भइरहेको मन्त्री बस्नेतको भनाइ छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मकवानपुरका सङ्घीय सांसदहरु दीपकबहादुर सिंह र महेश बर्तौलाले स्थानीयका जायज मागलाई सम्बोधन गरी विकास आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत सातरआठ वर्षको तुलानामा अहिले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा गुणात्मक प्रगति भएको बताए । जग्गा प्राप्ति ऐनमा अध्यादेशमार्फत गरिएको संशोधनले प्रसारण लाइनको निर्माणमा जग्गा प्राप्तिको समस्यालाई झनै जटील बनाएको उल्लेख गर्दै उनले उक्त संशोधन गरिएको व्यवस्थालाई संसद्बाट कानुन बनाउँदा विशेष ध्यान दिन अनुरोध गरे।
प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तथा अन्य संरचना तयार भएको जानकारी दिए ।
हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने उनले उल्लेख गरे ।