काठमाडौँ, बैशाख । हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले अहिलेको सहकार्यलाई राम्रोसँग अगाडि बढाउनुपर्ने बताए ।
२०७४ मा एमाले र माओवादी एकता भई नेकपा बनाए जस्तो अहिलेको अवस्था नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले कम्युनिस्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए ।
अहिले एमाले र माओवादी लगायतका दलहरूबीचको सत्ता सहकार्यलाई राम्रोसँग अगाडि लैजाँदा एकताको आधार तयार हुने बताए । ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौँ ।'
'हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य सुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिउँ ।'
त्यसो हुँदै गयो भने राजनीतिक दल बीचमा, कम्युनिस्टहरूको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको,' प्रधानमन्त्री दाहालको भनाई थियो ।
उनले भने, 'हामी संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणको जुन बिन्दुमा छौँ, समाजवादको आधार तयार पार्ने कुरामा हामी सहमतिका साथ संविधानमा उल्लेख गरेका छौँ, त्यसमा इमान्दार भएर लाग्ने आजको आवश्यकता हो ।’
प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महसुस हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।