२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

 महामन्त्री शर्माले भने  :  'कांग्रेस घर-घरमा देउसी खेलेर नयाँ सरकार बनाउन लाग्दैन'

कांग्रेस अब जनताका मुद्दाहरु लिएर संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने

शनिवार , फाल्गुण २६, २०८०

 

काठमाडौँ, फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । उनले कांग्रेसले घर घरमा पुगेर देउसी खेल्ने र सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरे । कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने उनको भनाइ छ । 

उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने बताए । शनिबार पार्टीको पदाधिकारी बैठकपछि महामन्त्री शर्माले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने प्रष्ट धारणा बनाएको बताए ।

‘हामीले सभापतिज्युलाई भनेका छौँ । अहिले हामी सरकार बनाउने वा भत्काउने भन्ने खेलमा लाग्दैनौँ । यो गठबन्धन जे बनेको छ, यसले काम गर्ने अवसर पाओस् । 

हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भन्ने अभियोग छ,' उनले भने, 'त्यसको परीक्षण हुन्छ ।' उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुमध्ये सबैले राम्रै(राम्रो गर्न नसकेको स्वीकार गर्दै केही पनि नगरेको भन्न नमिल्ने बताए ।

'मन्त्रीले काम गर्नका लागि, रिजल्ट देखाउनका लागि कम्तिमा एक वर्षको समय पाउनुपर्थ्यो, यतिकै कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् भनेर प्रधानमन्त्रीले पन्छिन मिल्ने कुरा होइन,' उनको भनाइ थियो ।

महामन्त्री शर्माले संसद्मा कांग्रेसले ठूलो दलको हिसावले जिम्मेवारी पूर्णरुपमा निभाउने बताए । 'अहिले शिक्षा विधेयक छलफलमा छ । यदि कसैले यसलाई पास गर्दैनौँ भन्छ भने पर्खाल भएर उभिन्छौँ, अरु पनि कानूनहरु बन्नेक्रममा छन्, बनाउनुपर्ने अवस्थामा छन्, अबको हाम्रो ध्यान त्यहाँ केन्द्रीत हुन्छ,' उनले भने ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार