काठमाडौं, फागुन । नेकपा (एकीकृत समाजवादी) काप्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।
यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’– उनले भने ।
नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे ।
प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिरसिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए ।
नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उनकै कारणले, उहाँबाहेक अरु कोही होईन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थैं तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरुलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ ।
उनले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उनको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’– नेता चौधरीले भने । प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएमा मुलुकले दुःखपाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनको दाबी छ ।
आफूले संसद्मा बोलेको कुरालाई लिएर माओवादीकै सांसदहरुले ‘प्रचण्डका कारण हामीलाई मुख देखाउन पनि लाज लागिरहेको बेला तपाईँले बोलिदिनु भयो, धेरै खुसी लागेको छ’ भनेर टेलिफोन गरेकोसमेत उनले सुनाए ।
अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवालालाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनशाय राखेको उनको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए ।
‘उनको आफ्नो मनशाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने ।
केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसेको उनको भनाइ छ । नेता चौधरीले ओलीले साँवा मात्रै राफसाफ मात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ ।
साथै, ओलीले प्रचण्डको नेतृत्वमा प्रतिनिधिसभा विघटन गराएर विगतमा आफूले ठीक गरेको थिएँ भन्ने भाष्य निर्माण गर्नसमेत चाहेको उनको दाबी छ ।
उनले आफू वर्तमान सरकार ढाल्न र आफ्नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने उनले बताए । यदि अध्यक्ष नेपाल प्रधानमन्त्री नबने प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताए ।
साथै, एकीकृत समाजवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र जतिसक्यो आफूहरु बिगार्ने खेलमै लाग्ने पनि उनले बताए ।
'म मेरो ठाउँबाट यो सरकार ढाल्ने काममा लाग्छु । सकभर मेरै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने काममा लाग्छु । यदि भएन भने प्रचण्डबाहेक जोसुकै होस् प्रधानमन्त्री बनाउने,’– उनले भने ।
जहिले पनि प्रधानमन्त्री बनाउन आफूहरुले त्याग गरेपनि माधव नेपाल विरामी भएर ओच्छानमा सुतिरहेको बेला थाहै नदिई प्रचण्डले अर्को गठबन्धन बनाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, ललिता निवास र माधव नेपालप्रति कुनै साइनो सम्बन्ध नरहेको उनको दाबी छ ।