काठमाडौँ, फागुन । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजी बजारमा पनि देखिएको छ । तीव्र उतार चढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।
साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार ९६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ ।
सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक ११७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो ।
मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो ।
बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।
यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ ।
आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार ६९६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार ३९९ कित्ता शेयर मात्रै किनबेच भयो ।
मङ्गलबार रु चार अर्ब चार करोड ५२ लाख ८२ हजार ७५४ बराबरको एक करोड चार लाख दुई हजार ९४० कित्ता शेयर कारोबार भएको छ ।
त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार २५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार ४५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार ३९४ बराबर कायम भएको छ ।