काठमाडौँ,फागुन। राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पु¥याएको क्षतिपछिको पुनःनिर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भूकम्पका कारण सञ्चार क्षेत्रमा पु¥याएको क्षतिबारे सरकारको ध्यानाकषर्ण गराउनुभयो । सांसद शर्माले भन्नुभयो, “भूकम्पपछि प्रभावित क्षेत्रमा प्राविधिक रुपमा भूगोलको अध्ययन जरुरी छ । भूकम्पपछि भूगोल खस्किएको छ, चिरा परेको छ, फाटेको छ र प्रभावित क्षेत्र बसोबासका लागि उपयुक्त छ वा छैन, अध्ययन गर्न जरुरी छ ।
नेकपा (एमाले)का सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकषर्ण गराउनुभयो । उहाँले भन्नुभयो, “धार्मिक पर्यटनका सम्बन्धमा पवित्र नारायणीनदीको प्रमुख उदगमस्थल दामोदरकुण्ड, मुक्तिनाथ गोसाइगुण्ड, त्रिशुलीदेखि गोलाघाट अयोध्याधाम र त्रिवेणीधामसम्मलाई विशेष क्षेत्रका रुपमा संरक्षण, संवद्र्धन गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।
नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जनताबाट निर्वाचित सांसदहरुले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिनुभयो । मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो सङ्घीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गर्नुभयो ।
सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो । सांसदहरु नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभयो ।