आन्दोलन छेड्दै सहकारी पीडित
७३ लाख काठमाडौं उत्रिँदै : " चैत १ मा काठमाडौं ठप्प पार्ने चेतावनी "
सहकारी ठगका अपराधी सरकारकै वरिपरी घुमिरहेको आरोप
काठमाडौं, फागुन । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।
फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताइएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए ।
सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म केही काम नगरेको र आफूहरुसँग समन्वयसमेत नगरेको उनको भनाइ छ ।
सरकारको यसप्रकारको गतिविधिले सरकार कसका लागि हो ? भन्ने प्रश्नचिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । उनले ती पीडितहरु विभिन्न २८९ सहकारीमा आवद्ध रहेका बताए ।
आफूहरु अब सहकारी पीडितको न्यायकालागि मर्न पनितयार भएर सडकमा जानलागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतीमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ ।
‘सहकारी विभागमा यही आउँदो. ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिर्न कार्यक्रमको सुरुवात गर्दैछौं । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गनबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौं ।’
उनले भने, ‘उहाँहरुका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौं । चैत १गते देशभरका पीडित बचतकर्तालाई काठमाडौं आह्वान गर्छौं । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामी तयार छौं ।’
अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिएन जस्तो आफूहरुलाई नलागेको उनले बताए ।
उनले सहकारी पीडित बचतकर्ताहरुलाई न्यायका लागि मर्न पनि पछाडि नहट्न आह्वान गरे । बीचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने काम नगर्न पनिउनले सबै अभियन्ताहरुलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरु लागिरहने उनको भनाइ छ ।
अभियानका महासचिव राजेश विष्टलेनियम र ऐन कानुन अनुसार चलेका र बचतकर्तालाई दुःख नदिएका सहकारीले पनि आफूहरुले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे ।
त्यसैगरी, आफूलाई ललितपुर, कुमारीपाटीस्थित गुडविल बचत तथा सहकारी संस्थाको बचतकर्ता बताउने यमबहादुर विष्टले चार वर्षदेखि आफूले बचत रकम फिर्ता नपाएको बताए । उनले सरकारले पनि कुनै पहलकदमी नलिइ दिएको भन्दै दुःखव्यक्त गरे । आफूले पैतृक सम्पत्ति बेचेर आएको ११ करोड पैसा उक्त सहकारीमा राखेको उनको भनाइ छ ।
अर्का सहकारी पीडित दृष्टिबिहीन उमेश थापाले आफू देउराली बहुउद्देश्यीय सहकारीबाट ठगिएको बताए । आफूसहित सात जनाको करिब ४० लाख रुपैयाँ उक्त सहकारीले ठगी गरेको उनले बताए । उक्त पैसा देउराली सहकारीमा फस्दा अहिले काम गर्नसमेत गाह्रो भएको उनले बताए । आफूजस्तै धेरै दृष्टिबिहीन र अपाङ्गको बचत सहकारीले ठगेको उनको भनाइ छ ।