काठमाडौँ, फागुन । नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
काठमाडौंमा मंगलबारदेखि जारी पहिलो विधान अधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने नेताहरुले सहरी समुदायलाई सहज हुने गरी जनजिब्रोमा झुण्डिने नाम र चुनाव चिन्ह राख्न सुझाव दिएका हुन् ।
समूहका संयोजकहरुले सुझाव प्रस्तुत गर्ने क्रममा पार्टीको अहिलेको नाम उपयुक्त नभएको भन्दै समाजवादी चरित्रको अर्को नाम राख्नुपर्ने माग गरे ।
त्यस्तै, 'चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाु असजिलो भएको भन्दै सजिलो खालको अर्को चुनाव चिन्ह राख्नु उपयुक्त हुने सुझाव राखे ।'
'अधिवेशनमा मंगलबार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विधानको मस्यौदामाथि छलफल गर्न नेताहरुको विभिन्न २० समूह बनाएर छलफल गरिएको थियो । '
त्यसमध्ये बुधबार १३ समूहबाट सुझाव प्रस्तुत गर्दै समूहका संयोजकहरुले बदलिँदो समयअनुसार पार्टीलाई चलायमान बनाएर अघि बढ्नुपर्ने माग गरे ।
समूहगत छलफलको सुझाव पेश गर्नेक्रममा केन्द्रीय सदस्य सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिन्ह फेर्नुपर्ने सुझाव राखे ।
सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनु उपयुक्त हुने उनको भनाइ थियो । ‘अहिलेको अवस्थामा पार्टीको नाम र चुनाव चिन्ह फेर्नु उपयुक्त हुन्छ,’ उनको सुझाव थियो । नेता सहयात्रीले पार्टीको महाधिवेशनको मिति तोक्न समेत माग गरे ।
अर्का नेता युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समितिको आवश्यकता नभएको बताए ।
‘पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्छ’ उनको भनाइ थियो ।
नेता कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेपत्ता र घाइते सदस्यहरुलाई महाधिवेशनमा पर्यवेक्षकका रुपमा राख्नुपर्ने बताइन् ।
विधान मस्यौदामाथि सुझाव दिंदै दिलीपकुमार प्रजापतिले केन्द्रीय समितिको आकार अझै घटाउनुपर्ने बताए । ‘केन्द्रीय सदस्यको आकार सकेसम्म कम गर्नुपर्छ,’ उनले भने, ‘पूर्णकालीन पार्टी सदस्यको व्यवस्था स्पष्ट रुपमा व्यवस्था गर्नुपर्छ ।’
त्यसैगरी कुमार पौडेलले घाइते तथा पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे ।
विधान मस्यौदामाथि परशुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्याङ्कन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछुतलाई गम्भीररुपमा लिने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले पनि चुनाव चिन्ह फेर्नुपर्ने सुझाव समूहमा आएको बताएका थिए।
बामदेव क्षेत्रीले विधानलाई छरितो र कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव दिंदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी व्यवस्था गर्न माग गरे ।
हरिराज अधिकारीले चुनाव चिन्ह बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेश गरे । ‘सबै पार्टी समितिलाई साना र छरितो बनाउनुपर्छ’ उनको सुझाव थियो ।
'यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव रञ्जित तामाङले दिए । ‘सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्छ,' उनको भनाइ छ ।
झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जाने गरी प्रस्तावना लेखिनुपर्ने सुझाव दिए ।
नेता निर्मल आचार्यले पार्टी सदस्य अनलाइनमार्फत् नवीकरण गर्ने व्यवस्था गर्न र पार्टीलाई प्रविधियुक्त बनाउन सुझाव दिए । स्थायी समिति विधानमा राख्न नपर्ने सुझाव रहेको उल्लेख गर्दै उनले पार्टीमा संरक्षक समिति बनाउनुपर्ने माग गरे ।
बाँकी रहेका ७ समूहले बिहीबार सुझाव पेश गर्ने र अधिवेशन सकिने माओवादीले जनाएको छ ।