काठमाडौँ, माघ । नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरुले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए ।
त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरुले विशेष रुपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेस गरेको जानकारी दिए ।
उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए । उनले भने, ‘अभियानले कसले कति काम गर्यो ? कसले गरेन ? को सक्रिय भयो, भएन भन्ने कुरा धेरै राम्रोसँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ ।
वक्ताहरुले के भनेका छन् भने अब चाहिँ कामको आधारमा मूल्यांकन गरेर जो सक्रिय छ, सक्रियताको आधारमा, कामको आधारमा मूल्यांकन गरेर राम्रोसँग खट्नेलाई प्रोत्साहन गर्नुपर्यो ।
तिनीहरुलाई पुरस्कारको व्यवस्था पनि गर्नुपर्यो । नखट्नेहरुलाई दण्डित पनि गर्नुपर्यो भन्नेखालको आज रिपोर्टमा आएको छ ।’
बैठकमा बोल्ने नेताहरुले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न मागसमेत गरेका उनले उल्लेख गरे ।
अभियानले पार्टी नेता तथा कार्यकर्ताहरुको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाइ छ । माओवादी केन्द्रको केन्द्रफय कमिटी बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।