२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

 नेपाली कांग्रेस 

महामन्त्री थापाले भने : " कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनुपर्छ "

शुक्रवार , माघ २६, २०८०

काठमाडौँ, माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताए । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन । 

महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए ।  'संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो”, उनले भने । 

उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे ।  उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताए ।  “दोषी उम्कनु हुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन”, उनले गपे । 

महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए ।  

कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौँका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गरे । उनले विस २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे ।  

“आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ”, उनले भने ।

नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आम नागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताए ।  

उनले पार्टीका नेता होइन कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताए । काठमाडौँका जिल्ला सभापतिलाई कांग्रेसले टिकट दिन नसकेको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नीति अधिवेशनले सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  “अब देश र जनताले खोजेकोजस्तो पार्टी बनाउनका लागि नीति अधिवेशनले आवश्यक बाटो पहिल्याएर अगाडि बढ्नुपर्छ”, उनले बताए । 

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनप्रतिनिधि र पार्टीका बीचमा समन्वय नहुँदा समस्या परेको बताए ।  

पार्टीभित्र देखिएको तित्ततालाई एकतामा ल्याउनका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । प्रदेश सभापति बानियाले टिकट दिने पद्धतिमा परिवर्तन गर्न जरुरी रहेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार