काठमाडौँ, माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै प्रधानमन्त्री फेर्ने विषयमा छलफल गर्न नहुने बताएका छन् । अर्को सत्ताघटक नेपाली कांग्रेसका नेताहरुले सरकारको नेतृत्व नै फर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष नेपालले भने अहिले नै सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको बताए ।
बुधवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ अध्यक्ष नेपालले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए।
‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला ।
आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरुको छनोट होला,' मन्त्री फेरबदल गर्ने विषयमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ' अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, सरकार छ ।
' यसले नै संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउने हो । त्यसकारण यस्तो बेलामा को–को प्रधानमन्त्री ? को-को मन्त्री भनेर छलफल चलाउनु ठीक हुदैन । मन्त्रीहरु फेर्ने नै हो भने पनि सुटुक्क गर्ने विषय हो ।'
उनले वर्तमान संविधानलाई कसैले चुनौती दिन्छ भने सत्ता गठबन्धनले त्यसको डटेर सामना गर्ने बताए । देशमा न्याय र अधिकारका लागि जो सुकैले पनि आवाज बुलन्न पार्न पाउनुपर्ने बताए । 'यो देशमा गणतन्त्रलाई फाल्न खोजियो भने बेग्लै कुरा हो ।'
'अब संविधानलाई नै उखेलेर फाल्न खोजियो भने त्यो पनि अलग कुरा हो । तर जो सुकैले पनि आफ्नो न्यायको निम्ति, अधिकारको निम्ति बोल्न पाउनुपर्छ । शान्तिपूर्ण विरोध र प्रदर्शन गर्न पाउनुपर्छ,' उनले भने ।