काठमाडौँ, माघ । चुनाव अगाडिदेखिको गठबन्धनबाट कार्यकर्ता र जनतामा असन्तुष्टि बढेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
महामन्त्री थापाले, केन्द्रीय नेतृत्वले तल्लो तहको कार्यकर्ता र मतदाताको इच्छा विपरीत निर्णय गरेर कार्यान्वयन गर्न लगाएको गुनासो कार्यकर्ता र सर्वसाधारणले गरेको छन ।
‘मेची-महाकाली संवाद यात्रा’को क्रममा पश्चिम नवलपरासी आएका थापाले संवाद यात्रा स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।‘ भूगोल परिवेश अनुसार हरेक जिल्लामा फरक फरक समस्या रहेछन् ।
हामीले काठमाडौंमा सामान्य सोचेको समस्या प्रत्यक्ष भोग्ने सर्वसाधारणका लागि जटिल समस्या भएको यात्राको क्रममा मैले महसुस गरेँ,’उनले भने, ‘विकास निमार्णसँगै राजनीतिमा चुनाव अगाडि गरिएको गठबन्धनबाट कार्यकर्तामा वितृष्णा छाएको पाइयो । यसलाई आगामी दिनमा केन्द्रीय नेतृत्वले गम्भीरताका साथमा हेर्नुपर्दछ ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, राज्यले जनतालाई आफ्नो उपस्थितिलाई दरिलो पार्न नसकेको गुनासो जनता र कार्यकर्ताले पार्टी नेतृत्वललाई दिएको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि जिल्लामा आयोजना गरिएको औपचारिक कार्यक्रम भने स्थगित भएको छ । संवाद यात्रा अन्तर्गतको बाँकी यात्रालाई पार्टीको बैठकपछि निरन्तरता दिने उनले बताए ।