२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस महासमिति बैठक फागुन ७ मा   : "  तयारीलाइ तीव्रता दिईयो "

महासमिति बैठकलाई नीति अधिवेशनका रुपमा गर्ने

सोमवार , माघ २२, २०८०

काठमाडौँ, माघ । नेपाली कांग्रेसले आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारीलाई तीव्र गतिमा अघि  बढाएको छ । पार्टीको १४औँ महाधिवेशनपछि पहिलो पटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रुपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो ।

हाल देशभरबाट  ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।  

महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्य रहनेछन।

महासमिति बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ । बैठक तयारीका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । 

बैठक नीति अधिवेशनका रुपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा  प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा  प्रस्ताव तयारी अन्तिम चरणमा छ ।

यसैगरी, बैठक तयारीका लागि माघ २१ गते विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ । 

प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य,  भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा,  यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) लाई चयन गरिएको मुख्यसचिव पौडेलले बताए । 

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले आइतबार नै उपसमितिका संयोजक र पार्टी सचिवालयको संयुक्त बैठक गरेर तयारीका बारेमा छलफल गरेका थिए ।  

महामन्त्री शर्माले सभाहल पुगेर सबै उपसमितिको कार्यविभाजन अनुसारका कामका लागि सरसल्लाह गर्नुभएको जानकारी दिएका छन । 

यसअघि यही माघ २० गतेसम्म सबै महासमिति सदस्यको निर्वाचन सम्पन्न गरी सूची प्राप्त भइसक्नुपर्ने समय निर्धारण गरिएको थियो । 

यद्यपि सुनसरी, भोजपुर, खोटाङ, महोत्तरी, बारा, पर्सा, सप्तरी, सिन्धुली, धादिङ, काठमाडौँ, दोलखा, रामेछाप, पर्वत, दाङ, कपिलवस्तु र कञ्चनपुरका केही क्षेत्रबाट महासमिति सदस्यको सूची प्राप्त हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार