२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा माओवादी केन्द्र

प्रधानमन्त्री दाहालले भने  :  'परिवर्तनकाे रक्षा गर्न माओवादी घटकबीच एकता '

माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपील

शनिवार , माघ १३, २०८०

काठमाडौँ, माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपील गरेका थिए ।

'देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,' दाहालले भने । विभाजित भएर लक्ष्यमा पुग्न नसिकने उनको भनाइ थियो ।

माओवादी नेतृत्वको सशस्त्र संघर्षका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्ष जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

'कतिपय अझै घाइतेका रुपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ,' उनले भने, 'सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिंगो पार्टी पंक्तिले आत्मबोध गर्नुपर्छ ।'

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मा लिने विश्वास दिलाए । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो ।

सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै दाहालले सबै माओवादी विचारधारा केन्द्रिकृत हुने विश्वास व्यक्त गरेका थिए । 

'समान त्याग र बलिदान गरेकाहरू एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्,' उनले भने, 'त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ ।'

त्यस्तै, दाहालले शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिने बताएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार