काठमाडौँ, माघ । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यक तर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।
श्रेष्ठले ३ हजार ८०८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मत पाए । अपांगता / अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ मत ल्याए ।
महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मत पाइन् । गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १४० थियो ।
गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/ उपप्रमुख, अध्यक्ष/ उपाध्यक्ष १७० गरी कुल २३० जना मतदाता थिए ।
गठबन्धनमा आबद्ध दलहरूको मतभार ३ हजार ८२७ थियो । यद्यपि, तीनवटै उम्मेदवारले यस बराबरको मत पाएनन् । केही मत बदर भएको थियो भने केही मतदातामा ‘भोट क्रस’ समेत गरेका थिए ।
बिहीबार २३० मतमध्ये २२९ मत खसेको थियो । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानका लागि आएनन् ।
बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप उनी माथि छ ।
गण्डकीमा राष्ट्रिय सभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।