२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रिय गौरवका आयोजना 

प्रधानमन्त्री दाहालले भने  : "  पुराना आयोजना सरकारकाे प्राथमिकतामा "

' वार्षिक बजेटको ठीक ढङ्गले प्राथमिकीकरण हुन सकेन '

सोमवार , माघ ८, २०८०


काठमाडौँ,  माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रूम’बाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण)  को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन । 

आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्री दाहालले भने, “वार्षिक बजेटको ठीक ढङ्गले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजना र अन्य महत्त्वपूर्ण आयोजना नराम्रोसँग प्रभावित हुने गरेका छन् । 

पर्याप्त बजेटको व्यवस्था नहुँदा गुणस्तरीय काम हुन नसक्नुका साथै भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ । यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ । यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ ।”

अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै आयोजनास्थलमा परिणाममुखी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए ।   

प्रधानमन्त्री दाहालले भने, “नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ । फिल्डमा तपाईंहरू काम गर्नुस् । पटक पटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस् । यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला ।”

सो क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएकाले निर्माण व्यवसायीको भुक्तानीमा सहजता आएको जनाउँदै अब आयोजनाको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए । 

अनुगमनका क्रममा सिक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाले वित्तीय स्रोतको सङ्कुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक नभएको भन्दै स्रोतको अभाव नभए आयोजनाले गति लिने बताए । 

बाँके जिल्लाको सिँचाइलाई लक्षित गरी अगाडि सारिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ हुने जनाउँदै आयोजना प्रमुख निरौलाले आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको बताए । 

निरौलाले सिक्टा सिँचाइ आयोजनामा पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको, आयोजनाको अवधि लम्बिँदा वित्तीय दायित्व थपिँदै गएको बताउँदै निर्धारित समयमा नै निर्माण सम्पन्न गर्नेगरी आफूहरू क्यालेन्डर बनाएर काम गर्ने जानकारी दिएका छन । 

आयोजनाको उपलब्धितर्फ पुलसहितको ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको, ४५ दशमलव २५ किमी लामो पश्चिम मूल नहर सम्पन्न भएको, पूर्वी मूल नहरको चैनेज ३७ दशमलव ६७५ सम्म नहर निर्माण सम्पन्न भएको, पश्चिमतर्फका शाखाहरूको करिब ५५ प्रतिशत निर्माण सम्पन्न भएको बताउँदै निरौलाले आगामी दिनमा आयोजना निर्माणको गति बढाइने जानकारी दिए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार