दमौली (तनहुँ), माघ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
गण्डकी प्रदेश अन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/ उपप्रमुख, अध्यक्ष/ उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् ।
हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ ।
नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत सुनिश्चित रहेको र घोषणा मात्र हुन बाँकी रहेको बताए ।
सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले संविधानको विरुद्धमा लागेको तत्वलाई निस्कृय बनाउन गठबन्धनलाई अझै बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा दलका नेता हरिबहादुर चुमानले यसअघिको निर्वाचनमा मत बदर भएकाले यस पटकको निर्वाचनमा मत बदर हुन नदिन सचेतना जगाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कलिला खान लगायतले देश विकास र समृद्धिका लागि अहिलेको गठबन्धन अपरिहार्य रहेको चर्चा गरे ।
राष्ट्रियसभा सदस्यहरुले माघ ९ गतेसम्म प्रचार प्रसार र मतदाता भेटघाटलाई निरन्तरता दिने जनाइएको छ । मतभारका दृष्टिले निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ ।
राष्ट्रियभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशसभामा ६० र स्थानीय तहका १७० मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ ।
प्रदेशसभातर्फ तीन हजार १८० र स्थानीय तहतर्फ तीन हजार २३० गरी कूल छ हजार ४१० मतभार रहेको जनाइएको छ ।
(