काठमाडौँ, पुस । संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी भाष्य बनाउने दुस्साहस भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । उनले भने, 'संसारमा मानव जातिले लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै भएको छैन ।'
नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, 'गणतन्त्रका पक्षधर दलहरूले जनतालाई यसको महत्वको अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । '
‘उनले थपे, संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो ।
गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’
उनले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने बताए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ ।
हामीले जनतालाई लोकतन्त्रको अनुभूति गराउन सकेनौँ कि भनेर हामीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको मैले ठानेको छु,’ उनले भने ।
प्रधानमन्त्री दाहालले नेपालका सबैजसो नेताहरू कुनै न कुनै रूपमा बीपी कोइरालाबाट दीक्षित रहेको बताए । ‘हामी सबै कोही न कोही बीपी कोइरालाको स्कुलबाट दीक्षित भएर आएका छौँ,’ उनले भने ।