२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा माओवादी केन्द्र

प्रधानमन्त्री दाहालले भने  :  “ तपाईहरु ढुक्क हुनुस्, गठबन्धन पाँचैवर्ष जान्छ ”

“जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”

बुधवार , पौष ११, २०८०

 

काठमाडौँ, पुस । सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन ।  

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान अन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, 'जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको छ । '

“जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उनले भने,, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।” 

प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिए । उनले विशेष रुपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नु पनि रहेको बताए । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गरे ।  
प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिएका छन । 

“परम्परागत रुपमा फागुनदेखि  बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ”, उनले भने, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।” 

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताएका छन । ‘‘अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईहरु ढुक्क हुनुस्”, उनले भने, “कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुदैँन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ ।” 

वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई  अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताए । 

उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण टुङ्गो लागेको र उक्त आयोजना निर्माण हुँदैन कि भन्ने चिन्ता नगर्न समेत पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई अपिल गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार