काठमाडौँ, पुस । सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै भने, 'सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि र जनताको सहभागिता बढाउन र कार्यान्वयनमा सहजता ल्याउन बजेटका सिद्धान्त र प्राथमिकतामा हुने छलफलको परम्परा तोड्न लागिएको छ ।
'सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्दछ । '
आगामी वर्षको नीति तथा कार्यषक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आम नागरिकको समेत प्रतिक्रिया लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता सकेसम्म फागुनमै पेस गर्ने हाम्रो तयारी छ,' उनले भने, 'प्राप्त सुझावसमेत समेटी नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने गृहकार्यमा म छु । यसबाट नीति तथा कार्यक्रममा सबैको सहभागिता र अपनत्व स्थापित भइ कार्यान्वयन पनि सहज हुनेमा म विश्वस्त छु ।'
प्रधानमन्त्री दाहालले पुँजीगत खर्च क्षमता बढाउनका लागि निर्णायक हस्तक्षेप गर्नुपर्ने बताएका छन् । 'विगत केही वर्षदेखि नै कमजोर रहेको पूँजीगत खर्च गर्ने क्षमतामा निर्णायक हस्तक्षेप गर्न अब ढिला भइसकेको छ । '
बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरूमा बजेट विनियोजन हुन सक्यो न खर्चको सही आँकलन नै हुनसक्यो,' उनले थपे, 'यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भइ नै रह्यो ।'
त्यसैले म नीति योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु । प्रि बजेट छलफल कर्मकाण्डी भएको भन्दै सांसदहरूले सधै सरकारको आलोचना गर्दै आएका थिए ।
यसपटक त्यो परम्परा तोडेर प्रि बजेट छलफल फागुनमा नै भएमा सांसदहरूले उठाएका विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहज हुने प्रधानमन्त्रीको भनाइ छ ।