काठमाडौँ, मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आमामी पुस १२ गतेदेखि बस्ने भएको छ । बैठकमा सरकारका काम कारबाहीका विषयमा समीक्षा हुने नेताहरूले बताएका छन् ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले पुस १२ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुस १२ गतेदेखि बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिए ।
‘आगामी पुस १२ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको छ,’ उनले भने, ‘समसामयिक राजनीतिक विषयहरूमा त्यही बैठकमा छलफल हुनेछ ।’
बैठकमा सरकारका मन्त्रीहरूसमेत सहभागी थिए । तर शुक्रबारको बैठकमा सभापति देउवाले सरकारका काम कारबाहीबारे नबोल्न रुलिङ गरे ।
शुक्रबारको बैठकले महासमितिको बैठक फागुन ७ देखि १० का लागि तोकेको छ भने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने निर्णय गरेको छ ।
महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिको अबको बैठकमा सरकारका काम कारबाहीका विषयमा समीक्षा हुने बताए ।
‘हामीले पार्टीको महासमिति बैठकदेखि आन्तरिक अभियान सञ्चालन गर्नेसम्मका विविध निर्णयहरू अहिले लिएका छौँ,’ थापाले भने, ‘अब आगामी बैठकमा सम्पूर्ण रुपमा सरकारका काम कारबाहीका विषयमा मात्रै छलफल गर्ने गरी तयारी भएको छ ।’
कांग्रेस वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठूलो साझेदार हो । ०७९ चैत १७ मा सरकारमा सहभागी भएको कांग्रेसबाट अहिले एक उपप्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् ।
निर्वाचन भएर नयाँ सरकार गठन भएको एक वर्ष पूरा हुने र कांग्रेस सरकारमा सहभागी भएको समेत ९ महिना पूरा हुने भएकाले त्यस अवधिमा सरकारका काम कारबाहीबारे पार्टीभित्र पनि समीक्षा गर्नुपर्ने अवस्था रहेको नेताहरूले बताएका छन् ।
शुक्रबारको बैठकपछि पार्टीका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले भने सरकारमा कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूका विषयमा भने गुनासो गर्ने ठाउँ नरहेको बताए ।
‘कांग्रेसबाट हामी जति पनि मन्त्रीहरू छौँ, आफ्नो ठाउँबाट राम्रो गर्ने प्रयास भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि हामीहरूसँग कामका विषयमा त्यस्तो गुनासो राख्ने ठाउँ पाउनुभएको जस्तो लाग्दैन ।
हामीले पनि चुनौतीहरूका बाबजुद जनताको भावनालाई सम्बोधन गर्ने गरी कामलाई अघि बढाइरहेका छौँ ।’