बेनी, मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताउनुभएको छ ।
समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताउनुभयो ।
अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।
नेपालबाट गत वर्ष रु १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गर्नुभयो ।
“यो वर्ष हालसम्म रु १४ अर्बको विद्युत् बिक्री भइसकेको छ, जेठ र असारसम्म पुग्दा रु १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ, यो वर्ष नेपालले बाहिरबाट बढीमा रु १२ अर्बको मात्रै खरिद गरे पुग्छ, हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ”, मन्त्री बस्नेतले भन्नुभयो ।
म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताउनुभयो ।
म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्युत् आयोजनमा स्थानीयलाई शेयरको सुनिश्चित गर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री बस्नेतले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको जिकिरसमेत गर्नुभयो ।
“सरकार गठन हुँदाको अवस्था र अहिले धेरै फरक भएको छ, सबै सूचकहरूको विश्लेषण गर्दा मुलुकको आर्थिक अवस्था लयमा फर्कन लागेको देखिएको छ, यो सरकारले गरेको सकरात्मक काम हो”, मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले व्यापार घाटा न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण र रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र०का उपमहासचिवसमेत रहनुभएका नेता बस्नेतले नेपालको नयाँ संविधानमा समाजवादोन्मुख अर्थव्यवस्थालाई स्वीकार गरेकाले अबको ध्यान समाजवाद निर्माणमा केन्द्रित हुने बताउनुभयो ।
उहाँले समाजवादी मोर्चामा सरकार र सरकार बाहिरका दलसमेत आबद्ध रहेकाले मुलुकमा समाजवाद निर्माण गर्न सरकार, संसद् र सडकबाट रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।