काठमाडौँ, मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले कम्युनिष्टसँग निरन्तर गठबन्धन गर्न नहुने बताएका छन । उनले भनेका छन, गठबन्धन गर्दै गए एक दिन कांग्रेसकै अस्तित्व समाप्त हुन्छ ।
राजनीतिक दलसँग यदी कांग्रेसले गठबन्धन नै गर्न परे लोकतान्त्रिक शक्तिसँग मात्रै गर्नुपर्ने बताएका छन ।शुक्रवार काठमाडौंमा रिता शाहीको गजल संग्रह ‘चिनारी’ लोकार्पण गर्दै नेता कोइरालाले भने, मुलुकको परिवर्तन गर्नुअघि कांग्रेसमा परिवर्तन हुनुपर्छ ।
हामी सबैको उद्देश्य देशको विकास गर्ने भन्ने छ । तर देशमा परिवर्तन गर्न त्योभन्दा पहिले नेपाली कांग्रेसमा परिवर्तन हुनु आवश्यक छ,’ उनले भने ।
‘कांग्रेसमा परिवर्तन नभएसम्म देशमा पनि परिवर्तन सम्भव छैन । परिवर्तित र बलियो कांग्रेसले मात्रै देशको परिवर्तनको नेतृत्व गर्न सक्छ ।’
नेता कोइरालाले वर्तमान निर्वाचन प्रणाली रहेसम्म सरकार गठनकै लागि पनि गठबन्धन गर्नैपर्ने स्थिति रहेको बताए ।
‘यही निर्वाचन प्रणाली रहेसम्म गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि–इलेक्सन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ ।
हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ?,’ नेता कोइरालाले अघि भने, ‘हामी यी विषयहरूमा प्रस्ट भएर मात्रै अघि बढ्न आवश्यक छ ।
यदि कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व नै समाप्त हुन्छ ।’
उनले कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुने गरेको विगत रहेको बताए । ‘देश पपुलिजममा गइरहेको देख्छु । हामी पनि त्यतै गइरहेको हो कि जस्तो लाग्छ ।
सामाजिक सञ्जालहरूमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोक रिझ्याईमा बढी गइरहेका छौँ,’ कोइरालाले भने ।