काठमाडौँ, मंसिर । कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगाएका छन् ।
उनले अब पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने कम्पनी बिक्रीमा राजनीतिज्ञ र कर्मचारीको संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने दाबी समेत गरे ।
मंगलबार ओखलढुंगा कांग्रेसको सम्मेलनमा नेता कोइरालाले एनसेल प्रकरणलाई कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्ने बताए ।
' आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव नै हुँदैन ।'
'त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल किन बिक्री भयो ?,' कोइरालाले भने, 'यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्छ । नेपाललाई भ्रष्टाचारमुक्त बनाउन पनि कांग्रेसले नेतृत्व गर्नुपर्छ ।'
नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए ।
'अहिले जताततै मानिसमा असन्तुष्टि छ । यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ ।
भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो,' उनले भने, 'यसलाई सबै मिलेर निर्मूल किन नपार्ने ?'