२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  :  " भ्रष्टाचारका कारण प्रमुख दलसँग नागरिक रिसाए "

'जतिसुकै ठूलो होस्, भ्रष्टाचारी हो भने कारबाही हुनुपर्छ ' 

सोमवार , मंसिर ११, २०८०

 

काठमाडौँ, मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै ठूलो मान्छे भएपनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने बताएका छन् । 

उनले मुलुकमा बढ्दो भ्रष्टाचारका कारण नागरिक प्रमुख राजनीतिक दलका नेता र दलहरूसँग रिसाएको धारणा राखे 

सोमबार नवलपुरमा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले लोकतन्त्र जनताले बोल्न र विरोध गर्न पाउने व्यवस्था भएको दाबी गरे । 

थापाले ०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गरिनुपर्ने बताए ।

‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्ने कि नसक्ने? बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही हो,' उनले भने ।

उनले लोकतन्त्रमा मात्रै लोकतान्त्रिक व्यवस्थाको समेत विरोध गर्न पाइने बताए । अस्ति काठमाडौंमा प्रदर्शन भयो, त्यहाँ पार्टी प्यालेसबाट मानिसहरूलाई लखेट्ने काम भएको छ । 

ती लखेट्नेहरु को हुन्? ती मानिसले काठमाडौंमा गएर गणतन्त्र फ्याँक्छु भनेर भन्न पाउने हक र अधिकार राख्दछन्, किनकी यो लोकतन्त्र हो,’ थापाले अघि भने, ‘त्यसको रक्षा गर्ने काम र सुरक्षा दिने काम राज्यको हो। 

हिजो नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भयो, त्यो ढुंगा हान्ने को हो ? लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइन्छ । तर ढुंगा हान्न पाइँदैन । त्यस्तो गलत गर्नेलाई राज्यले दण्डित गर्नुपर्छ ।

महामन्त्री थापाले सार्वजनिक मञ्चबाटै बैंकवालालाई ठेगान लगाइदिन्छु भन्ने अभिव्यक्ति दिनेलाई राज्यले कानुन अनुसार कारबाही गर्नुपर्ने बताए ।

उनले देशमा अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्छ भनेर विश्वास जगाउन सक्नुपर्ने बताए । 

कोही मानिसले राज्यको ढुकुटीको पैसा ठगी गर्छ भने त्यसलाई 'जमिनमुनि गए पनि भ्रष्टाचारीलाई नछाड्ने' कानुन बनाउनुपर्नेछ । 

अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्न सक्नुपर्छ,' उनले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार