काठमाडौँ, मंसिर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा अराजकता फैलाउने काम गरिरहेको आरोप लगाएका छन् ।
विराटनगरका पत्रकार शंकर खरेलले लेखेको लघुकथा ॐ तृप्यन्ताम पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले सो कुरा बताएका हुन ।
नेता कोईरालाले भने, 'दाहाल आफैं प्रधानमन्त्री छन, सडकमा लाखौं मान्छे उतार्नेलगायतका अभिव्यक्ति दिएर हिड्छन, यसले मुलुकमा अराजकता फैलाउन खोजेको होईनत ?'
उनले भने, 'मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ तर प्रधानमन्त्रीले आफैं सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतंकित बनाइरहेका छन्।'
कोइरालाले भने, 'मुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतंकित बनाइराखेका छन् ।'
उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए ।
मुलुकमा बहुविश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय खोल्ने लहर छ तर कलेजहरू रित्तिँदै गएका छन्, उनले भने, 'विद्यार्थीहरू लाम लागेर विदेशी पलायन भइरहेका छन् । त्यसैले विद्यार्थी विदेश पलायन हुने कारण खोजेर निकास दिनु आवश्यक छ ।'
सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा रहेकोलाई चुनोति दिँदै अंग्रेजी माध्यमको नाममा सामुदायिक विद्यालयहरूले अभिभावकसँग अवैधरूपमा रकम असुली गरिरहेको प्रति कोइरालाले आपत्ति जनाए ।
माध्यमिक तहको शिक्षा निःशुल्क र गुणस्तरीय बनाउन सकेमात्रै देश उँभो लाग्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।
युवा विलेश पलायनले देशमा विकृति बढिरहे पनि राज्यले रेमिट्यान्स भित्रिरहेकोमा गर्व गरिरहेको छ, उनले भने, रेमिट्यान्सले सधैं देश चल्दैन । यो एउटा पार्टमात्रै हो, देश चलाउन उत्पादन बढाउनु आवश्यक छ । र, त्यसका लागि युवा शक्ति अपरिहार्य छ ।
मुलुकमा देखिएका यावत समस्याको समाधान राजनीतिक नेतृत्वले दिनुपर्ने कोइरालाको भनाइ थियो ।