२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

 'देशमा निरंकुशता ल्याउने जमर्को अझै पनि देखापर्दै'   : प्रधानमन्त्री दाहाल

बिहिवार , कार्तिक २३, २०८०


काठमाडौँ, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा अझै पनि निरंकुशता ल्याउने जमर्को देखा परिरहेका बताएका छन् । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले लेखेको पुस्तक ‘यात्रा जिन्दगी’ को बिहीबार लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनका लागि भएका संघर्षलाई अस्वीकार गर्दै निरंकुशता ल्याउन खोज्नेहरू देखा परेको बताएका हुन् । 

प्रधानमन्त्री दाहालले माओवादीको नेतृत्वमा राज्य एकीकरणका लागि जनताको तहबाट विद्रोह र पहल कदमी नै जनयुद्ध रहेको बताए । 

पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि माओवादीको नेतृत्वमा उक्त कार्य भएको उनको दाबी थियो । 

सरकारले जनयुद्ध दिवस भन्दै फागुन १ गतेलाई बिदा दिने घोषणाको विरोध भइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो अभिव्यक्ति आएको हो ।

‘जनयुद्धको दर्शन, त्यसभित्र लिइएका रणनीति, अभ्यास, नीति, त्यतिबेला हामीले अपनाइएका कार्यशैली, आचारसंहिता, त्याग, तपस्या, हामीले त कुनै तलब, भत्तामा गरेको होइन ।' 

'भएको सम्पति पनि सकेर सम्पूर्ण रुपले राष्ट्र र जनताको निम्ति यो देशका सबै महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु सबै सबैको पहिचान र अधिकारको निम्ति आफू बरु मेटिने जतालाई पहिचान र अधिकार चाहियो, समावेशिता, समानुपातिकता चाहियो भन्ने उद्देश्यको विचार र भावनासहित गरिएको महान त्याग थियो,' प्रधानमन्त्री दाहालले भने ।  

उनले थपे, ';पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेलामा गरे पछिको अर्को ठूलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर, यसको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी छ ।' 

'आधिकारिक रुपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ ।' 

यसभित्र अन्तर्निहित विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपीकरण गर्ने र निरंकुशतालाई अगाडि ल्याउने जमर्को अझैपनि देखा पर्छन् ।’

नेपालको इतिहासमा पृथ्वीनारायण शाहको राज्य एकीकरण आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले सोही भूमिकालाई लिएर पृथ्वीजयन्तीमा विदा दिने निर्णय लिएको बताए । 

पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गर्दा विरोध नभएको तर फागुन १ मा बिदा दिने निर्णय गर्दा विरोध भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ुजनयुद्ध दिवसको अहिले निकै ठूलो टिका टिप्पणी हुने गरेको छ । 

मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ,ु उनले भने ।

पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताए । 

त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भुमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उनको भनाई छ । 

उनले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेतासँगको आफ्नो सम्बन्ध, राजनीतिक भुमिकाको पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिए ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार