काठमाडौँ, कात्तिक । सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका उत्पन्न भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै हालसम्म संघीय निजामती र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको उनले उल्लेख गरे ।
प्रदेशलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भन्ने प्रश्नसमेत उनको थियो
‘प्रदेशलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौँ । यहाँ भन्नै पर्दैन यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त ।
आठ आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरुलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ? उनले भने ।
उनले चुरे उत्खनन्ले विनास निम्त्याइरहेको बताए । '०७२ सालमा कानुन बनेको छ चुरे क्षेत्रमा उत्खननलाई प्रतिबन्ध लगाउने गरी ।'
त्यसलाई कार्यान्वयन गर्ने र चुरिया क्षेत्रको संरक्षण, त्यहाँको गिट्टी, ढुंगा निकाल्न रोक्ने र न्यून असर पर्ने ठाउँबाट निकालेर घरेलु प्रयोजनका लागि, आन्तरिक प्रयोजनका लागि लाग्नेगरी प्रतिबन्ध लगाउनुपर्छ अनि मात्र पर्यावरणीय संकटबाट जोगाउन सकिन्छ । मधेशलाई मरुभूमिकरणबाट जोगाउन सकिन्छ ’ यादवले भने ।