काठमाडौँ, असोज । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनकाे पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।
सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् ।
बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको जानकारी दिएका छन ।
हाम्रो गठबन्धन छ । गठबन्धनमा पहिल्यै कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति छ ।
त्यही अनुसार यसअघि प्रतिकूल अवस्थामा पनि कांग्रेसले नेतृत्व गर्न खडा भयो,’ विश्वकर्माले भने, ‘अब सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा हुँदैन । तर त्यसका लागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी छ ।’
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेनन् ।
‘दुई पटकसम्म हाम्रो संसदीय दलको नेताले विश्वासको मत पाउनुभएन । त्यो परिस्थिति नै प्रतिकूल थियो,’ नेता विश्वकर्माले भने, ‘अब फेरि पनि पार्टीको नेतृत्वमा सरकार गठन हुँदा हामीले उनलाई नै अघि सार्ने हो ।’
बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ ।
प्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसका लागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।
कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धनका दलको धारणा बमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको बातावरण बनाउन पहल लिने निर्णय गरेको हो ।
कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तत्काल सरकार गठनका लागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग पहिल्यै छ ।
जसमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
तर विश्वासको मत प्राप्त गर्ने बेला फेरि संकट पर्ने भएपछि गठबन्धनले यसपटक राप्रपाको साथ खोजेको छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् ।
राप्रपाले गठबन्धनलाई साथ दिए प्रदेशमा गठबन्धनलाई सरकार गठनको सहज बातावरण बन्नेछ ।